Monday, July 8, 2013

नियात्रा: ताल, तालिया र तर्कनाहरू


                                                            ताल, तालिया र तर्कनाहरू

                                                              

         -मणि लोहनी



   टन्टलापुर घाममा तालको उदेकलाग्दो उकालो। फुङ्ग उडेको ढुंग्यानी पहाड र त्यसको बीचमा मानिसहरूको हातमा रहेको मृत्युरेखाजस्तो बाटो। त्यसो त तालको यो अन्तिम उकालो पनि हो। यो उकालोमा आफू सँगसँगै हिँडिरहेजस्तो लाग्छ, मृत्यु। ढुंग्यानी पहाडमा एकदेखि तीन फुटसम्मको चौडाइमा खोपिएको बाटो र तल एकनासले बगिरहेको गहिरो मस्र्याङ्दी। हिँडाइको ताल बिगि्रयो कि खसियो मस्र्याङ्दीमा। खुट्टामै टाँसिएको छ डर। यही साँघुरो बाटामा भेटिन्छन् भारी बोकेका खच्चडहरू र घन्टीको कर्कश आवाज। यो यात्राभरि मैले कहीँ पनि खच्चडका घाँटीमा झुन्डिएको घन्टबाट निस्किएको आवाजबाट आनन्द लिन सकिनँ। सबै ठाउँमा उही एकनासको एकोहोरो टङटङ। मस्र्याङ्दीको बगाइ र खच्चड घन्टीको आवाजमा खासै भिन्नता रहेन, यो यात्राभरि। खासै आकर्षण पनि रहेन। दुवैमा पीडा मात्र सुनियो। दुःख र अप्ठ्यारो मात्रै।

    साथीहरू सबै पछाडि परेका थिए। ठाकुर -बेलवासे) र म हुलका हुल खच्चडहरूलाई उछिन्दै तालको टुप्पोमा पुग्यौँ। बाटोको सानो क्याफेमा हामीले केही जापानी भेटेका थियौँ। उनीहरू पनि छुटे। हामी उकालियौँ। र, उकालोको टुप्पैमा भेट भयो तालियासँग। सानी मसिनी इजरायली किशोरी तालियासँग।

"तालियाको अर्थ के हुन्छ थाहा छ?" गफिँदै गएपछि मैले सोधेँ।

"हामीकहाँ त यो एउटा धार्मिक मन्त्रको एक आरम्भ हो। तर, यताचाहिँ क्ल्यापिङ्लाई बुझाउँदो रहेछ होइन !" उनले मुस्कुराएजस्तो लाग्यो। इजरायलतिर मणिको अर्थ के हुन्छ होला? मैले कहिल्यै सोचिनँ।

"कसरी थाहा पायौ?" तालको ढोकैमा अडेस लागेर मैले सोधेँ।

"नेपाल आउनुअघि उतै बुझेर आएकी।"

"कोसँग आएको?" ठाकुरले फोटो खिचिरहँदा म उनीतिर नजिकिएँ।

"ड्याड र ममसँग।" कुरा गर्दै हामी तालतिर ओर्लियौँ। बाटैमा छ मस्र्याङ्दी। अघिसम्म सयौँ फिट तल रहेको मस्र्याङ्दी अहिले आफूसँगै छ। हामीले जुत्ता खोलेर खुट्टा पानीमा डुबायौँ। तालिया हामीसँगै ढुंगामा टुसुक्क बसिन् र हाम्रो फोटो खिचिदिइन्। कुरै कुरामा थाहा भयो, यस यात्रामा उनीसँग साथ रहेकी आमा तालियाको आफ्नै आमा भए पनि बाबुचाहिँ झड्केलो रहेछ। उनको आफ्नो बाबु त बन्जी मास्टर भएर बसेको रहेछ, इजरायलको पश्चिमी सहरमा। तालियाका बाबु वर्षौं पहिले नेपालको भोटेकोसीमा बन्जी स्थापना गर्ने बेला नेपाल आएका रहेछन्, विशेषज्ञका रूपमा र डेढ महिना नेपाल बसेका रहेछन्।

"मम त किन आइन् थाहा छैन, मचाहिँ आफ्नो पन भुल्न आएकी।"

"के रे, के भन्यौ?" उनले आफ्नै पाराको अंग्रेजीमा भनेको मैले नबुझेको हो कि भनेर सोधेँ। तर होइन, उनले भनेको नै मैले बुझेको रहेछु। उनी आफ्नो पन भुल्न नै आएकी रहिछिन्। भनिन्, "आफ्नो पनको अनुभूतिले दुःखसिवाय अरू केही दिँदैन।" उनी झर्किइन्, "सम्बन्धसँग घीन लाग्छ मलाई। म भुल्न चाहन्छु, सबै सम्बन्धहरूलाई।" अंग्रेजीमा उनले यसो भनेकी थिइन्, "फक अल रलिेसन्स। आई वान्ट टू फर्गेट इट।"

     तालिया मुस्किलले २४ की भइन् होलिन्। तर, सम्बन्धप्रति यत्रो वितृष्णा? के सम्बन्ध भनेको असन्तुष्टिका पहाड हुन्? र, हामीहरू सब अभिशप्त छौं त्यो पहाड चढ्न... चढिरहन? जुनसुकै परिवेश र भूगोलमा पनि सम्बन्धसँग यो तनाव किन? कि मानिस एक्लै जन्मिन्छ, एक्लै मर्छ भन्ने दर्शन नै सत्य हो? के जिन्दगीमा भेटिने सम्बन्धहरू भरम मात्र हुन्? या दुःख अनुभव गर्नलाई यी सब आवश्यक छन्? सम्झेर म हैरान हुन्छु।

   खिचिक्क। आवाज आएतिर म हेर्छु। मेरो अघिल्तिर तालिया खिलखिलाउँछिन्। एकोहोरो मस्र्याङ्दीतिर हराइरहेको म। फोटो खिचेको आवाजले उनीतिर फर्किन्छु। मेरै फोटो खिचेकी रहिछिन् उनले। उनकै क्यामराले। अलि उता ठाकुर ठूलो ढुंगामा बसेर खुइय्य गर्दै थियो। थाकेको छ ऊ। म पनि थाकेको छु। बिहानदेखि एकनास हिँडेको हिँड्यै छौँ हामी। भोक पनि लागिसक्यो। भोक नलागोस् पनि किन? साढे १२ बजिसक्यो। अब दिन जान कतिबेर लाग्छ र! तालमा नै खाना खाने कार्यक्रम छ।

    लम्पसार सुतेर फैलिएको लामो बस्ती। एकनासका सुन्दर घरहरू। प्रत्येक घरमा रहेको ससाना बगँैचा र ढुंगा छापेको सफा बाटो। यही तालबाट सुरु भयो मनाङ। एउटी गुरुङसेनीको होटलमा छिरेर खाना खान्छौँ। यामले बिहानै फोन गरेर खानाको अर्डर गरसिकेको रहेछ। चिसो ठाउँ, तातो खाना, सिमीको दाल र बिहानदेखिको भोक। खाना अलि बढी नै रुच्छ। खाना खाइसकेलगत्तै होटलको पटाङ्गिनीमा कवि गोष्ठी हुन्छ। सम्भवतः यो यात्राको पहिलो कवि गोष्ठी। स्थानीय आमा समूहकी अध्यक्ष, प्रहरी चौकी इन्चार्ज र स्कुलका हेडमास्टर मञ्चमा बस्छन्। हामीहरू कविता सुनाउँछौँ, यही बाटामा लेखिएका कविता। कविताभरि बिग्रेको बाटो, चिसो परिवेश र गरिबीहरू भेटिन्छन्।

लमजुङको भुलभुलेबाट हाम्रो यात्रामा साथै रहेका एक जना मास्टर यही विद्यालयमा पढाउँदा रहेछन्। यो स्कुलमा उनले पढाएको ११ वर्ष भइसकेछ। उनीसँगै हामी उनले पढाउने स्कुल हेर्न जान्छौँ। "मस्र्याङ्दीको बाढीले स्कुललाई पनि छाडेन," बूढो मास्टरले भने।

    गएको असारमा आएको बाढीले स्कुलको आधा चौर र एउटा भवनको एक कुनो बगाएर लगेछ। मस्र्याङ्दीको धार हेर्दा अझै बगाउने निश्चित छ। गाउँलेले मिलेर अहिलेलाई बालुवा भरेको बोराले थेगेका छन् स्कुल। प्रकृतिले पनि किन दीनदुःखीलाई नै सास्ती दिने होला? मलाई नमज्जा लाग्छ। स्कुलमाथिको विपत्ति देखेपछि भीष्मदाइ कविता लेख्नुहुन्छ। भीष्मदाइको कवितामा स्कुलमाथिको विपत्ति तस्बिरजस्तो उत्रिन्छ। बगाएर लैजानलाई थुप्रै चीजहरू छन् यहाँ। खच्चडले झारेका लादीहरू। मान्छेले गरेका फोहरहरू। बाटो छेकेर ठिङ्ग उभिएका ढुंगाहरू। अज्ञानता, अभाव र फोस्रा अहम्हरू। बगाएर लैजानलाई थुप्रै चीजहरू छन्, यस गाउँमा। तर, मस्र्याङ्दी नदी, यी केहीलाई नबगाएर किन सँधै स्कुल ताकेर बग्छ? र, कहिले सपना खेल्ने चौर बगाउँछ। कहिले सपनाहरू कोपिलाउने भवनको पर्खाल भत्काउँछ।

    तालबाट हामी धारापानीतिर लाग्छौँ। समथल फराकिलो बाटोमा हिँड्दा हिँड्दै श्रीओम दाइ बाटाको एउटा सानो ढुंगामा अल्झिनुहुन्छ र झन्डै झन्डै लडेको। ठाकुरले 'ए ए' भन्दै च्याप्प समाउँछ र तान्छ आफूतिर। संयोग कस्तो रह्यो भने ठाकुरजीको बलले उहाँ रोकिनुहुन्छ र लड्नबाट जोगिनुहुन्छ। गजबको सन्तुलन देखिन्छ। भर्खरै फोटो खिचेको झरना, आफूसँगै फैलिएर बगेको मस्र्याङ्दी, चौरी चररिहेको फाँट र फराकिलो समथर बाटोले हुनुपर्छ, श्रीओम दाइ निर्धक्क हिँडिरहनुभएको थियो र अल्झिनुभयो बाटैको सानो ढुंगामा।

    लगभग तीन बजिसकेको छ, मध्याह्नको। बिहान ६ बजेदेखि हिँड्न सुरु गरेको। थकाइले चुर पारेको छ। अझ खाना खाएपछि शरीर झन् गलेको छ। हिँड्न मन लाग्दैन। तैपनि, मस्र्याङ्दीमाथिको झोलुङ्गे पुल तरेर हामी उकालिन्छौँ चिसा खिरिल पहाडमा।

    बिहान लमजुङको स्याङ्गेबाट आजको यात्रा सुरु गर्दा दिन चमकदार थियो। भर्खरै उदाएको घाममा टल्किएका मस्र्याङ्दीका सेता ढुंगाहरूले लोभ्याएको थियो हामीलाई। स्याङ्गेबाट ओर्लिएर च्याम्जेको घारीमा हामी झन्डै हराएका। ठाउँठाउँमा उन्यू घारीले बाटो पनि लुकाएको। त्यही खोँच परेको भिरालो र चारैतिर झाडीले छेलिएको बाटोमा उभिएर नक्सा हेररिहेकी एक विदेशी यौवनाले मलाई निकै बेर अलमलाएकी थिइन्। साँच्चिकै बाटो अलमलिएर हैरान भएको मलाई उनले नक्सामा बाटो पहिल्याउन लगाइन्। कहाँ सक्नु? एकछिन उनीसँग गफिएँ मात्र, नाम सोध्नै भुलेँ।

    गारो अनुहार, कैलो आँखा र कैलै कपाल। "कहाँसम्म पुग्ने हो?" मैले सोधेथेँ। "थोराङ्ला पुगौँ भनेको तर सक्दिनँ जस्तो छ। हुम्दे पुगेर फर्किन्छु, आकाशबाट।" उनले मलाई हेरनि्। उनका कैला आँखा आकर्षक देखिए। हुम्देमा एयरपोर्ट छ र उनी प्लेनबाट पोखरा फर्किन खोजेकी रहिछिन्।

   "कोसँग आएको?" "ब्वाइफ्रेन्डसँग। तर, ऊ निकै माथि पुगिसक्यो होला।" "तिमी किन पछाडि त!" उनी केही बोलिनन्। ठूलो साइजको एउटा डायरी पल्टाएर देखाइन्। आहा ! कति राम्रो मस्र्याङ्दी। स्याङ्गेको डरलाग्दो पहराको बीचमा बगिरहेको लोभलाग्दो आकर्षक मस्र्याङ्दी बनाएकी रहिछिन् उनले डायरीमा। दुरुस्तै तस्बिरजस्तो। "तिमी शक्तिशाली कलाकार रहिछौ।" म उत्साहित बनेँ। "म कलाको विद्यार्थी मात्र हुँ।" उनी विनम्रतापूर्वक निहुरिएर मुस्कुराइन् मात्र।

     च्याम्जेबाट मस्र्याङ्दीको पुल तरेपछि ठाकुर र म अघि लाग्यौँ। श्रीओम दाजु, भीष्म दाइ, साम्ब पछाडि पर्नुभयो। बिहानको ९ बजेको थियो होला। साततले भीर पार गरेपछि हामीले लामो सास फेर्‍यौँ। बाँचियो भनेर। डरलाग्दो भीरको बाटो ठाकुर र मैले दायाँबायाँ कतै नहेरी पार गर्‍यौँ। डरले बोल्न पनि सकेका थिएनौँ। त्यहीँनेर खच्चडको बथान आइदिएको भए हामी के गथ्यौँ  होला? खच्चडलाई बाटो छाड्ने ठाउँ पनि थिएन। धन्य, खच्चड आएन र हामीले भीर पार गर्‍यौँ।

    चिसो केही खान पाए हुन्थ्यो। केही पाइएन। हामीले एक-एक कप चिया र अन्डा खायौँ। सानो छाप्रोजस्तो पसलमा। पसलमा फुच्ची गुरुङ्नी थिइन्। थाकेकाले उनीसँग बोल्न र जिस्किन पनि मन लागेन। त्यसपछि हामी फेरि उकालियौँ नौतले भीरतिर। अग्लो भएकैले भीरको नाम पनि यस्तो राखेका होलान्, साततले, नौतले। यो नौतले भीर त साततलेभन्दा धेरै नै अग्लो र डरलाग्दो छ।

    बाटाभरि आउने र जाने मान्छेहरू छन्। सानोतिनो मेला नै लागेजस्तो आभास हुन्छ। बाटामा पर्यटक, भरिया र खच्चड व्यापारीहरू मात्र होइन, स्थानीय गाउँलेहरू पनि उत्तिकै भेटिन्छन्। नौतले भीर साँच्चिकै भयङ्करको छ। माथि कहाँ हो कहाँ आकाश छुने पहरा। तल गहिरो खोँच। तल पुछारमा देखिने मसिनो रेखाजस्तो मस्याङ्दी र बडेमानका ढुंगाहरू। भीर र पहरामा खोपेर बनाइएको मसिनो बाटो। तल-माथि हेर्‍यो कि कहाली लाग्ने। मज्जा लिएर फोटो खिच्दै र सरर हावा खाँदै परपरका रमाइला दृश्यहरू हेरौँ भने पनि डर लाग्ने! कहाँ रमाउन सक्नु त्यस ठाउँमा? अहिले सम्झिदा रमाइलो लाग्नु भिन्नै कुरा। तर, त्यतिखेर डरले झन्डै मरेको। त्यतिबेलाको डर सम्झ्यो भने अहिले पनि आङ सिरङि्ग हुन्छ।

   ढुंग्यानी पहरा भएका कारणले पनि होलान्, गाउँलेले बाटो फराकिलो बनाउन नसकेका। सरकारले यो बाटो अलि सुरक्षित र फराकिलो बनाइदिए कति राम्रो हुन्थ्यो। सुरक्षित बाटोमा यात्रुहरू कति रमाई-रमाई उकालिन्थे होलान्। यहाँबाट देखिने सुन्दर दृश्यहरूको रसास्वादन गर्दै मनको धीत मार्थे होलान्, फोटोहरू खिच्थे होलान् र यो क्षणलाई एल्बमका पानाहरूमा सुरक्षित राख्थे होलान्। नौतले भीर सकेर केही बेर समथल बाटो हिँडेलगत्तै सुरु भयो, तालको उकालो। र, तालको उकालो उक्लिँदै गर्दा टुप्पोमै भेट भएको थियो तालियासँग ।  
                
                      साभार: http://www.ekantipur.com/nepal/article/?id=5520#.Udlal_YlOqA.facebook


No comments:

Post a Comment