Monday, July 8, 2013

आमा र घाम

आमा र घाम 

             -हरी माया भेटवाल


• भर्खर शिशु जन्माएकी आमा
र उदाउँदो घाम किन उस्तै लाग्छ मलाई ?
घामले पृथिवी देखेपछि
र मान्छेले भूगोल टेकेपछि
किन उस्तै लाग्छ घाम र मान्छे ?
घामसग कम्पास छ समयको
मान्छे कम्पास बनिरहन्छ
मान्छेभित्र आकासजत्रै विश्वास छ घामको
घाम परिक्रमा गरिरहन्छ
आमाले सन्तान हुर्काएझैँ
घामले पनि हुर्काएकोछ
कैयन् आँप, अम्बा र धानका बोटहरु
राति सुताएजसरी आमाले काखमा
ऊ पनि सुताउँछ र बिस्तारै जान्छ
कुनै अर्को देश ब्युँझाउन
र देखाउछ सिक्काको दुई पाटो जीवन
मलाई थाहा छैन
उता कत्तिको क्रियाशील हुन्छन् मान्छेहरु
पेटकोलागि वा सपनाकोलागि.....
यताजस्तै खोलाकिनारमा बसेर
हथौडाले चिसो ढुङ्गा फोर्छन् कि फोर्दैनन् होला उता मान्छेहरु ?
सन्तान जन्माउने अस्पताल नदेखी
डोकोमै सास छोड्छन कि छोड्दैनन होला
उताका सुत्केरीहरू?
भोकको आगो निभाउन नसकेर
कुवामा हामफाल्छन् कि फाल्दैनन्
होला उताका आमाहरु ?
कठै
यता कहिल्यै पुग्दैन चिसो चुलोमा देश
कहिल्यै दुख्दैन अभावमा र मृत्युमा देश
मलाई थाहा छैन उताको देश कस्तो छ
बस् मलाई त यति मात्र थाहा छ
यताजस्तै उदाउँछ होला घाम उता पनि
यताजस्तै फेर्छन् होला मान्छेले सास उता पनि
पानी उसरी नै पर्छ होला,
हावा उसरी नै चल्छ होला
जीवनको उकाली - ओरालीहरूमा
घाम उदाएसम्म गर्भधारण गरिरहन्छन् आमाहरु
र जन्मिरहन्छ होला धर्तीमा सुन्दर घामहरु .... !


(नोट: अन्तरास्ट्रिय पुरस्कार प्राप्त कविता)

No comments:

Post a Comment